
सानै उमेरमै उसले बुझेको थियो- समाजलाई परिवर्तनको खाँचो छ। वरिपरिबाट आउने विकृतिको दुर्गन्धले उसको मन असहज बनाइरहन्थ्यो। धनीले गरिबलाई नोकर बनाउने, ठूला जातले साना जातलाई पैताला मुनि राख्ने, उपचारका लागि राजधानी धाउनुपर्ने तर पैसाको अभावले उपचार नै रोकिने, विकासका नाममा आएका बजेट शक्तिशालीको भ्रष्टाचारमा हराउने…
समाज यस्तै बिसंगतिले भरिएको देख्दा ऊ दिक्क हुन्थ्यो। विभेद उसलाई पटक्कै मन पर्दैनथ्यो। उसको हृदयभित्र ज्वालामुखीझैँ लाभा बगिरहेको थियो- तर उसको उमेर सानो, पहुँच सीमित थियो।
उसले आफू ठूलो हुने प्रतिक्षा गर्थ्यो, र प्रतिज्ञा थिय- सबै बिसंगति विरुद्ध एकदिन लड्नेछु।
उमेर बढ्दै जाँदा उसको आवाज बलियो बन्दै गयो। ऊ भ्रष्टाचार विरुद्ध खुलेर बोल्थ्यो, कुरिति विरुद्ध पैठेजोरी खोज्थ्यो। बोल्ने मात्र होइन- ठोस कदम चाल्थ्यो, र ठोस परिवर्तन ल्याउँथ्यो। उसले जनताको विश्वास जित्यो, युवाहरूको साथ पायो। आज ऊ मन्त्री छ।
यो कुनै साउथ इन्डियन फिल्मको कथा होइन। न कुनै काल्पनिक पात्र।
उनी गुप्ता हुन्- बब्लु गुप्ता।
बब्लु गुप्ता: मधेसको आवाज
बब्लु गुप्ता मध्यमवर्गीय मधेसी परिवारमा जन्मिएका थिए। शिक्षा हासिल गर्न उनी सानै उमेरमा काठमाडौं आए र यही शहरमा हुर्किए।
त्यो समय अहिलेभन्दा बिल्कुलै फरक थियो- देशको सबै बाटो काठमाडौंमै आएर टुङ्गिन्थ्यो। विदेश जान, उपचार गर्न, रोजगारी खोज्न- सबैका लागि राजधानी पुग्नैपर्थ्यो।
गाउँबाट आएका मानिसहरू होटलमा नभई चिनजान भएकै मान्छेको डेरामा बस्ने चलन थियो। त्यसैले गाउँबाट दु:ख बोक्दै आएका धेरै परिवार बब्लुको डेरामै बास लिन आउँथे। शहरमा बसिरहे पनि गाउँका समस्या कहिल्यै बब्लु बाट टाढा रहेनन्।
उनले सकेजति सहयोग गर्थे- त्यसैले उनको बोली सुन्ने, उनलाई विश्वास गर्ने मानिस बढ्दै गए।
वैदेशिक रोजगारमा युवाहरू दौडिरहेको समय थियो। मेनपावरबाट ठगी बढेको थियो। बब्लुले धेरैलाई न्याय दिलाए, पैसा फिर्ता गराए। रगत अभाव हुँदा रगत खोजिदिन्थे, उपचारका लागि सहयोग जुटाइदिन्थे, बाट- बास नपाएकालाई साहारा दिन्थे।यी सबै काम उनी व्यक्तिगत स्तरमै गर्थे- जबसम्म एउटा घटना उनको जिवनमा आएन।
त्यो दुर्घटना
एकदिन उनी कलेजको बसमा यात्रा गर्दै थिए। अचानक बस रोकिन्छ। अगाडि रक्ताम्मे भएर छटपटाइरहेको एक व्यक्ति देख्छन बब्लुले तर वरिपरि भीड, सबै तमासे। कोही सहयोग गर्न तयार थिएन।
यो दृश्य ले उनलाई निकै असहज बनायो।
उनी कलेजका साथीहरूलाई बटुलेर घाइतेलाई कलेज ड्रेसमै अस्पताल पुर्याए, आफन्त आइपुगुन्जेल उपचारमा सहयोग गरे।
यही क्षणले उनलाई एउटा गहिरो बोध गरायो –
“समूह बनाएर अघि बढ्न सके, सहयोगको प्रभाव अझ बढ्छ।”
यही भावनाबाट जन्मियो – “100″
The 100 Group: सहयोगको संस्थागत रूप
सुरुमा वैदेशिक रोजगारमा अलपत्र परेकाहरू र रगत अभाव भएका बिरामीलाई सहयोग गर्ने उद्देश्य थियो। प्रारम्भमा सदस्यहरू मधेसी थिए, तर कामको प्रभावकारिताले केही महिनामै सबै क्षेत्रका मानिस जोडिन थाले।
कामको चर्चा देश- विदेश मा फैलियो। सहयोग जुट्न थाल्यो। 100 ग्रुपले आफ्नो कामको दायरा विस्तार गर्दै गयो।
त्यसकै बीचमा देशमा आयो- कोभिड:१९।
देश लकडाउनमा, सडक सुनसान, हुनेले खाने- नहुनेले हेर्ने अवस्था । यसबेला 100 ग्रुपले जोखिम मोलेर सडकमा चुल्हो फुक्यो। भोकाहरूलाई खाना खुवायो। मदनकृष्ण श्रेष्ठले समेत यसमा साथ दिए – पहिले उनकी श्रीमतीलाई रगत अभाव हुँदा 100 ग्रुपले नै सहयोग गरेको थियो।
त्यो समय केही जनप्रतिनिधिदेखि शक्ति समुहले अवरोध गर्न खोजे, कोभिड फैलिन्छ भनेर यसमा एमाले बाट काठमाडौं माहानगरका मेयर बनेका बिद्यासुन्दर ले बाधा पुर्याउन खोजे। यस्तोमा बिभिन्न नागरिक अगुवा तथा कंग्रेस/ विवेकशील जस्ता राजनितिक दलले 100 ग्रुपलाई सपोर्ट गर्यो। घटनाले राजनितिक रुप लियो। यसपछि अनामनार बाट सुरु गरेको खाना खुवाउने काम रोकिनु को साटो बिभिन्न स्थानमा बढ्न थाल्यो। यहि कामको अरु धेरैले अनुसरण गर्दै गए।
अवरोधले उनीहरूलाई रोकेन बरु काम अझ फैलियो।
कोभिडपछि कपडा बैंक, किताब बैंक, प्रोजेक्ट शिक्षा लगायतका अभियान सुरू भए। 100 ग्रुप एउटा प्रभावकारी राष्ट्रिय संगठनको रूपमा उभियो।
जेनजि बिद्रोह: परिवर्तनको शंखनाद
बब्लुको जन्मसँगै हजारौँ युवाको जन्म भएको थियो। त्यसपछि पनि लाखौको जन्म भयो। मधेसमा, पहाडमा, हिमालमा। भुगोल फरक रहेता पनि सबैले एउटै समस्या देख्दै हुर्किए। प्रविधिको अद्यावधिक सँगै उनीहरूको चेतना पनि अद्यावधिक हुँदै गयो।
Gen Z यस्तो पुस्ता हो जो –
अन्याय गर्दैन – सहँदैन पनि
तुरुन्त समाधान चाहन्छ- कुर्दैन
बिसंगति बिरुद्ध बोलिहाल्छ – चुप बस्दैन।
कसैको कुशासन स्वीकार्दैन।
सरकार जसको भए पनि प्रवृत्ति उही- भ्रष्टाचार, ढिलासुस्ती, असमानता।
युवाहरू दिक्क भए।
अन्ततः एकदिन जेनजिले आन्दोलन घोषणा गर्यो।
सबै उमेर समूहको साथ पायो। कुशासनमा लिप्त सरकार भाग्यो।
जेनजिले आफ्नो प्रतिनिधि रोज्यो—बब्लु गुप्ता।
बब्लु युवा तथा खेलकुद मन्त्री बने।
युवा मन्त्री: एक प्रतीकात्मक सन्देश
यो सरकार अन्तरिम हो। कार्यक्षेत्र सिमित छ। आयु पनि छोटै हुन्छ।
यसैले ठूलो परिवर्तन अहिले नै सम्भव नहुन सक्छ।
तर एउटा कुरा स्पष्ट भैसकेको छ –
युवाले अब कस्तो नेता खोज्छन्, कस्तो अनुहारको प्रतिनिधित्व चाहन्छन्।
बब्लु अब मात्र मधेसको होईन – सबै नेपालीको नेता बनेका छन। बब्लु 100 ग्रुपको मात्र होईन – नेपालिको बनेका छन।
नेपालको भविष्य युवाकै काँधमा छ- र त्यही काँधमध्ये बब्लु पनि एक हुन्।

